ए सिंहदरबार, के लखन थापालाई चिन्दछौ ?

विद्रोही कलम 

 

नेपाली प्रजातान्त्रीक आन्दोलनका अग्रणी एवम् नेपालका प्रथम सहिद हुन् लखन थापा । उनको जन्म विं.सं १८९१ तदनुसार १८३४ मा हालको प्रदेश नम्बर ४ को सहिद लखन गाउँपालिका वडा नम्बर ७ काउलेमा भएको थियो । उनि सैनिक परिवारमा जन्मिएका थिए ।
उमेश राना मगरद्धारा लिखित “क्रान्तिकारी लखन थापा मगर” पुस्तकमा उनको वास्तविक नाम लक्ष्मणसिंह थापा भएको उल्लेख छ । हिन्दुस्तानी संस्कृतिको प्रभावका कारण लक्ष्मणलाई लख्खन वा लखन पनि भनिने र स्नेहपूर्वक लखन भनिएको हुनसक्ने उल्लेख छ । (२०६३, पृष्ठ ३) ।
प्रजातान्त्रीक आन्दोलनका लागि पहिलोचोटी निरंकुश जहानिया राणा शासक जंगबहादुर राणा विरुद्ध जनस्तरबाट शसस्त्र विद्रोह गरेका लखन थापा राष्ट्र र राष्ट्रियताका लागि भन्दै पुर्खाहरुकै बाटोमा अघि बढेका थिए । विस वर्षको उमेरमा उनि विं.सं १९११ मा पुरानो गोरख पल्टनमा भर्ना भए । विं.सं १९२७ सम्म १६ वर्ष सैनिक सेवामा रहि उक्त पल्टनलाई सेवा गरेका थिए ।
नेपालमा जंगबहादुरको एकलौटी हुकुमी शासन चलिरहेका बेला भारतमा अंग्रेजहरुले दबदबा मच्चाई रहेका थिए । सोहि क्रममा भारतिय सिपाहीको विद्रोह दबाउन अंग्रेजले मागेको सैन्य सहयोगलाई जंगबहादुरले साथ दिए । तत्कालै विं.सं १९१४ तदनुसार १८५७ जुन ३० मा कर्णेल पहलवानसिंह बस्नेतको नेतृत्वमा ६ रेजिमेन्ट फौज भारत पठाइयो । पछि फेरि ३ फौज पठाइए पनि विद्रोह साम्य हुन नसकेपछि जंगबहादुर स्वयम अंग्रेजहरुको हिमायती बन्दै विं.सं १९१४ तदनुसार १८५७ डिसेम्बर १० मा ९ हजार नेपाली सैनिकका साथमा भारत प्रस्थान गरे । १० मार्चमा जंगबहादुर आफ्नो फौज सहित लखनउ पुगे । लगतत्तै संयुक्त फौज (नेपाल–भारत) ले आक्रमण गर्न थाल्यो र बर्बतापूर्वक लखनउ कब्जामा लियो । सोहि फौजमा पुरानो गोरख पल्टनका लखन थापा र जयसिंह चुमी पनि लखनउको भारतिय सिपाहि विद्रोहमा विद्रोह दबाउन सहभागि भएका थिए । उनिहरुले नचाहदा नचाहदै पनि विद्रोह दबाउन सरिक भई आफ्नो कर्तव्य निर्वाह गरेका थिए ।
नेपाल–भारत संयुक्त सैन्य फौजले आक्रमण गरि रहेका बेला आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकताका लागि भारतिय जनता खुलेर लागिरहेका थिए । आफ्नो देशको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमिकताका लागि कयौ भारतियहरुले जीवन उत्सर्ग गरे । उक्त घटनालाई लखन थापा र जयसिंह चुमी मगरले नजिकबाट देखे ।

 

 

 प्रदेश नंबर ४ गोरखना स्थित सहिद लखन गाउँपालिकामा रहेको सहिद लखन थापाको अर्धकदको सालिक ।
भारतिय जनताले जीवन र मरणको कुनै प्रवाह नै नगरी राष्ट्रका लागि जीवनको आहुति दिएको देखेका लखन थापाले नेपालमा भईरहेको राणा शासनको अत्याचार सम्झिए । भारतिय सिपाही विद्रोहमा लखनउमा विद्रोह दबाउन सरिक भएका लखन थापा निकै प्रभावित हुनुका साथै उनले त्यहाँबाट ठूलो शिक्षा हाँसिल गरे । भारतमा भएको अंग्रेजको दासत्व व्यवहार र नेपालमा निरङ्कुश एकतन्त्रीय राणा शासनलाई तुलना गर्न पुगेका उनले नेपली जनताको स्वतन्त्रताका निम्ति अव केहि गर्नुपर्छ भन्ने संकल्प त्यहिबाट लिएको पाइन्छ ।
जंगबहादुरको अत्याचार र क्रूरताका विरुद्ध जनविद्रोह गर्ने उपयुक्त वातावरणको पर्खाइमा लखनउबाट फर्किसकेपछि पनि केहि समय सैन्य सेवामै बिताए । त्यतिबेला उनले पल्टनमा अन्य सैनिकले भन्दा भिन्न, प्रशंसनिय र विश्वासनीय कार्य गर्दै गए । यसबाट प्रभावित भई उनलाई विं.सं १९२५ तदनुसार १८६८ मा कप्तान पद दिइयो । तत्कालिन अवस्थामा सर्वसाधरण जनताको छोरो सेनाको कप्तान हुनु सामान्य थिएन ।
लखन थापाको विद्रोह
जंगबहादुरको एकतन्त्रीय हुकुमी र निरङ्कुशता नेपाली जनातामाथि लादिएको थियो । भेडाबाख्रा सरह माथि कहिल्यै नेपाली जनतालाई नदेखेका जंगबहादुरको हैकमलाई सैन्यसेवामा छँदा लखन थापाले नियालिरहेका थिए । जंगबहादुरको निरङ्कुशताका विरुद्ध लड्न लखन थापाले आफ्नै गृहजिल्ला गोरखाबाट सुरु गर्ने योजना बनाए । बुंकोटको काउलेमा सैन्य किल्ला, हातहतियार सहित सैनिक प्रशिक्षणका लागि मैदान निमार्णको काममा उनि गृहजिल्ला गोरखाको बुंकोट फर्किए । स्थानिय जनतालाई संगठित र जागृत गराउने कार्यमा उनले रणनैतिक चाल चल्दै लगे । उनको हरेक गतिविधिलाई उनकै पल्टनमा कार्यरत जयसिंह चुमी मगरले साथ दिए । उनिहरु दुवै भारतको लखनउमा भएको सिपाही विद्रोह दवाउन सरिक थिए । विं.सं १९२७ मा पल्टन छोडी उनिहरु गृह जिल्ला गोरखाको बुंकोट फर्किएका थिए । उनिहरुको विद्रोहलाई शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञानदिलदास ब्राम्हण, अच्छामी मगर, कालु लम्साल लगाएतको साथ थियो ।
लखन थापाले तत्कालिन अवस्थामा निर्माण गरेको बुंकोटको काउलेको अग्लो स्थानमा रहेको किल्लाको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । तिन घेरामा निमार्ण गरिएको भनिएको उक्त किल्ला परिसरमा १२ वटा ढोका भएको र विशेष किसिमले निमार्ण गरिएको स्थानिय जीवन आले मगरले बताए । उक्त किल्ला परिसर भित्र पानी पोखरी पनि भएको र त्यो अहिले नरहेको बताए । हाल त्यहाँ लखन थापाको अर्धकदको शालिक प्रतिस्थापन गरिएको छ । लखन थापाले उक्त किल्ला परिसरमा निर्माण गराएको मनकामनाको मन्दिरको प्रतिकात्मक अवशेष आज पनि देख्न सकिन्छ ।

 

 

 

सर्वसाधारण जनतालाई धार्मिक कार्य भैरहेको छ भनि बोलाउने र जंगबहादुरका विरुद्ध जागृत गराउने गरि रणनैतिक चालका लागि काल्पिनिक मनकामनाको मन्दिर स्थापना गराएका लखन थापाले सैन्य हातहतियार सहित २ हजार भन्दा बढि युवाहरुलाई सैन्य प्रशिक्षण दिलाएका थिए ।
जंगबहादुरको निरङ्कुता विरुद्ध शसस्त्र जनविद्रोहमा उत्रिएका लखन थापाको पक्षमा जनलहर बढ्दै थियो । अर्को तर्फ जंगबहादुरको अत्याचारले सिमा नागिरहेको थियो ।

 

 

 

स्थानियको साथ र समर्थन बटुल्दै अझ बढि शसक्त बनेका लखन थापाले राज्यलाई बुझाउनुपर्ने (तिरो) कर बुंकोटमै रोकेका थिए । जंगबहादुरले देश मेलेच्छे (अंग्रेज) लाई बेच्न लागेको छ भन्दै देश बचाउन लखन थापाले स्थानिय जनतालाई जागृत गराएको, स्थानिय शुसासन र स्वतान्त्रताको लागि राज्यलाई बुझाउने करमा आंशिक मात्र बुझाएको स्थानिय बुढापाकाको भनाई छ ।
श्री ५ सुरेन्द्रलाई हटाएर श्री ३ बाट श्री ५ बन्न असफल बनेका जंगबहादुलाई चन्द्रागिरी भञ्ज्याङ्गमा घाट लगाएर मार्ने लखन थापाको योजनालाई केहि थापा काजिहरुले जंगबहादुर सम्म पुर्याएको र आक्रोशित हुदै जंगबहादुरले लखन थापाका विरुद्ध कदम चालेको स्थानियको बुझाई छ ।
लखन थापाको जनविद्रोहलाई दबाउन तत्कालै जंगबहादुरले देविदत्त बटालियनलाई बुंकोट पठाएको थियो । उक्त बटालियनसँग लखन थापाका सैन्य युवा फौजले घमासान युद्ध लडेको र अत्यमा लखन थापाले युद्धमा आत्मसर्मपण गरेको बताइन्छ । त्यहाँबाट लखन थापा सहित जयसिंह चुमी मगर र अन्य केहि सहयोगीलाई थापाथली दबरबार लगि सोधपुछ गरिएको बताइन्छ । युद्धमा आत्मसमर्पण गरे पनि प्रजातान्त्रीक आन्दोलनमा आत्मसर्मण नगर्ने उनको निर्णय विरुद्ध जंगबहादुरले उनलाई फाँसिको सजाय सुनाए । आफ्नै किल्ला परिसरमा झुण्डिने अन्तिम इच्छा जाहेर गरेका उनलाई विं.सं १९३३ फागुन २ गते बुंकोटको काउलेमा रहेको उनकै किल्ला परिसरमा रहेको प्रतिस्थापित मनकामनाको मन्दिर अगाडि रहेको खिर्राको बोटमा झुण्ड्याईएको थियो । उनका सहयोगी जयसिंह चुमी मगरलाई संगै छेउमा रहेको अम्बाको रुखमा झुण्ड्याईइको थियो । सोहि स्थानमा अन्य केहि सहयोगी लाई पनि फाँसी दिइएको र ५० भन्दा बढि सैन्य युवालाई टुँडिखेलमा निर्ममतापूर्वक हत्या गरिएको थियो ।

 

 

कसरी बने पहिलो शहिद ?

सहिद लखन थापा ।
लखन थापा नेपालको पहिलो सहिदका हकदार हुन आवस्यक छन वा छैनन् भन्ने विषयमा त्यति विभाद भएको पाइँदैन । प्रथम सहिदको दर्जा लखन थापा नै हुन भन्ने विषयमा विज्ञहरु एक मत भएको पाइन्छ । कतिपय अवस्थामा अन्य सर्वसाधारण मारिएको भए पनि जनताको प्रजातान्त्रीक अधिकारका लागि सांगठनिक विद्रोहमा सरिक भई राज्यद्धारा मृत्युदण्ड पाएका उनि पहिलो जनस्तरका व्यक्ति हुन ।
लखन थापा सैनिक भएको र सैन्य सेवामा कार्यगरेको व्यक्ति सहिद नभएर विर वा अमर हुने कतिपयको धारणा छ । तर उनि विं.सं १९२७ मा सैन्य सेवाबाट बाहिरिएर छुट्टै जनविद्रोहका लागि उत्रिएका थिए । छुट्टै सैन्य युवा र हातहतियार सहित राज्यका विरुद्ध लड्न उत्रिएका उनि राज्यकै सैनिक हुन नसक्ने तर्कमा प्राय विज्ञहरु एकमत छन् । ६ वर्षको अवधि सम्म पुन काजमा नफर्केको व्यक्ति सैनिक पदमै भएको भन्न मिल्ने कुनै आधार नभएको विज्ञहरुको भनाई छ । उनलाई विं.सं १९३३ मा मात्र जंगबहादुरले आफ्नो विरुद्ध उत्रिएको भनि कार्वाहि स्वरुप देविदत्त बटालियनलाई उनको किल्ला परिसर बुंकोटको काउले पठाएका थिए ।
जनस्तरबाट पहिलै प्रथम सहिदको सम्मान प्राप्त गरेका लखन थापालाई मृत्युदण्ड पाएको १२५ वर्षपछि २०५६ फाल्गुन ११ गते राज्यले सहिद मात्र भनि घोषणा गर्यो । मृत्युदण्डको १३९ वर्ष पछि विं.सं २०७२ सालमा सुसिल कोईराला नेतृत्वको सरकारले प्रथम सहिदको सुचिमा सुचिकृत गरेको थियो । विं.सं २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानमा विधिवत रुपमा लखन थापालाई प्रथम सहिद भनि उल्लेख गरिएको छ ।
नेपालमा प्रजातन्त्र, स्वतन्त्रता र लखन थापाको भुमिका
एकतन्त्रीय निरङ्कुश राज्यसत्ताका विरुद्ध जनस्तरबाट विद्रोह गरेका लखन थापाले स्थानिय शासन आफ्नै किल्ला परिसरबाट चलाएको पाइन्छ । स्थानिय युवालाई सैन्य प्रशिक्षण दिने राजनैतिक चेतना जागृत गराउने, राज्यलाई तिर्नुपर्ने करको आंशिक मात्र केन्द्रमा पठाउने र बाँकी स्थानिय तहमै खर्च गर्ने गरेको र त्यसैका विरुद्ध पहिलो पटक जंगबहादुर सम्म थापाकाजिहरुले सुराकी गरेको स्थानिय बुढापाका बताउँछन् ।

 

 


निरङ्कुश राज्यसत्ताका विरुद्ध प्रजातान्त्रीक व्यवस्था, स्वतन्त्रता र स्थानिय शुसासनको अवधारणाका लागि मर्न तयार भएका लखन थापा जंगबहादुरको फाँसिमा झुण्डिएका थिए । उनले सुत्रपात गरेकै प्रजातान्त्रीक आन्दोलनलाई आत्मसाथ गर्दै राणा शासन विरोधी गतिविधि गरेको आरोपमा विं.सं १९९७ मा ४ जना सपुतहरुले साहदत प्राप्त गरे । यो विद्रोहको १० वर्षपछि विं.सं २००७ फाल्गुन ७ मा नेपालमा जहानिँया राणा शासनको अन्त्य भई प्रजातन्त्रको आगमन भयो । विं.सं २०४६ मा प्रथम जनआन्दोलनबाट पञ्चायत र विं.सं २०६२÷०६३ को दोस्रो जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भई नेपालमा प्रजातन्त्रको गतिलो आधार खडा भयो । लखन थापाले सुत्राधारगेको प्रजातन्त्र स्वतन्त्रता र स्थानिय शुसासनको अवधारणालाई उनको मृत्यृदण्डको १४१ वर्ष पछि राज्यले आत्मसाथ गरेको छ । स्थानिय जनप्रतिनिधि सहितको स्थानिय तह, प्रादेशिक संरचना र संसदिय व्यवस्था रहने गरि नेपाली जनताको अधिकारका लागि राज्यको संरचना विस्तार भएको छ । यसले लखन थापाको प्रजातान्त्रीक आन्दोलनलाई सम्मान पुगेको छ ।

 

 

लखन थापासँग जोडिएको स्थानिय तह
जनस्तरबाट पहिलो पटक सांगठनिक आन्दोलनमा उत्रिएका लखन थापाले स्थानिय जनतालाई चेतनशिल बनाउँदै राज्यको एकात्मक र निरङ्कुशता विरद्ध उतारेका थिए । प्रजातन्त्र, स्वतन्त्रता सहित स्थानिय शुसासनको आधारभुत अवस्थालाई राज्यको उपस्थिति बिनै गोरखाको बंकोटमा लागु गराएका थिए । त्यसैको उपज नेपाली जनताले पटक पटकको असफल प्रयास पछि उनले सुत्राधार गरेको प्रजातान्त्रीक स्थानिय शासन व्यवस्थाको धारमा देशलाई अगाडि बढाएका छन् । स्मरण स्वरुप उनकै नामबाट गृहक्षेत्र गोरखाका ६ बटा गाविस लाई मिसाएर सहिद लखन गाउँपालिका घोषणा गरिएको छ । उक्त गाउँपालिका हालको प्रदेश नं. ४ मा पर्दछ । उक्त गाउँपालिकामा ९ वटा वडा छन् भने कुल जनसंख्या २७ हजार ५ सय ५५ छ । कुल मतदाता १८ हजार ५ सय ७ छन् । उक्त गाउँपालिकाको केन्द्र साविकको घैरुङ्ग गाविसको कार्यलय तोकिएको छ । गत बैशाखमा सम्पन्न निर्वाचनमा उक्त गाउँपालिकामा ११७ पुरुष र ८२ जना महिलाले उमेद्द्धारी दिएका थिए ।

 

 

 

सहिद लखन गाउँपालिका ।

 
सहिद लखन गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उमेद्वार रमेश बाबु थापा मगर ३८०८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेका कृष्ण आले ३४०३ मतका साथ ४०५ मतले पछि परेका छन् । उक्त गाउँपालिकाको विकास र समृद्धिका लागि अबको ५ बर्ष नेतृत्वको जिम्मा माओवादी केन्द्रमा आएको छ ।

सहिद लखन गाउँपालिकाको प्रमुखमा विजयी उम्मेदवार माओवादी केन्द्रका रमेश बाबु थापा मगर । 
स्थानिय तहमा २१ वटा र केन्द्रिय तहका १५ वटा कानुन सहित सार्वभौम अधिकार जनतामा आएको निर्वाचित प्रमुख रमेश बाबु थापा मगरले बताए । सहिदहरुको बलिदानिलाई आत्मसाथ गर्दै अबको विकास र समृद्धिमा सबै पार्टी र स्थानियसँग सहकार्य गरि अगि बढ्ने किसिमको जनादेश आएको उनको भनाई छ । प्रजातन्त्रका लागि लखन थापाले देखाएको मार्गमा आज देश हिड्न लागेको र त्यसको नेतृत्व गर्ने जिम्मा यहाँका जनताले आफुलाई दिएकोमा गर्व महसुस भएको निर्वाचित गाउँपालिका प्रमुख थापाले संचारपोष्टसँग बताए ।

 

प्रदेश नंबर ४  गोरखना स्थित सहिद लखन गाउँपालिका नागरिक स्थानीय तह निर्वाचनमा सहभागी हुँदै :

 

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website