- बिकास थपिलया
कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान स्वरुप ‘वन वर्ल्ड–टुगेदर एट होम कार्यक्रम चलिरहँदा कोरोना विरुद्ध दिन एकदेखि लडिरहेका नेपालका एक डाक्टर सरकारको नाममा एक स्पष्टिकरण दिइरहेका थिए, उनिमाथि सरकारले मर्यादा विपरित काम गरेको आरोप लगाएको छ ।
स्वास्थ्य मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको भन्दै मर्यादा विपरीत गतिविधि गरेका कारण जवाफ मागेको जनाएको छ । यसबारेको डाक्टर पुनको प्रष्टिकरण आउने नै छ । तर यतिबेला जसरी सरकार उनलाई तह लगाउने ढङ्गमा प्रस्तुत भएको छ त्यसले अरु चिकित्सको बनोबल पक्कै बढाउने छैन ।
संक्रमितको सम्पर्क नंवर चुहाएको आरोपबारे डाक्टर पुनले जवाफ देलान् र दिनु नै पर्दछ तर यो भन्दा पनि कोरोनाबारे जनचेतना फैलाउने क्रममा जसरी उनी सेलिब्रेटि डाक्टर बनेका छन त्यो धेरैलाई मन परेको छैन ।
ओम्नी समुहले ल्याएको आरडीटी किटको क्वालिटीमाथि प्रश्न उठाउने र यो विषयलाई सार्वजनिक गर्ने मुख्य पात्र डाक्टर पुन नै भएको बुझाइ एकथरीमा छ । बजार मूल्यभन्दा दश गुणा महंगो ल्याएको विषय सञ्चारमाध्यममा चुहाउने भन्दै त्यतिबेला देखिनै उनिविरुद्ध षड्यन्त्र सुरु भएको भन्नेहरु पनि छन् । जे होस्, एक विज्ञ डाक्टरले रोगको उपचार र त्यसबारे नबोले, नलेखे, जनचेतना नफैलाए उसको काम के हो ? कोरोनाको अहिलेको सम्मको औषधी भनेको चेतनानै हो । गुणस्तरियता, अनियमितता र रोगबारे बोलेकै कारण उनिमाथि कारवाही हुँदै छ भने यो भन्दा घोर कदम केही हुने छैन ।
कोरोना लडाईँमा खटीएका चिकित्सक, नर्स, अतिआवश्यक सेवा प्रदायक कर्मचारी लगायतको सम्मानमा नयाँ वर्षको सुरुवातको दिनको विहान राष्ट्रिय गान बजाइएको थियो तर त्यसको हप्ता दिन बित्दा नबित्दै सरकारले यो कदम चाल्दा सरकार पुरै होस हवासमै त थियो ?
डाक्टर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, उनले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन् । सुन्दा धेरैलाई आश्चर्य लाग्दा उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रमक रोगको बहादुरीपूर्वक सामना गरे । तर त्यस चिकित्सलाई पुरस्कृत गर्ने वा मनोवल बढ्ने काम गर्नुको साटो कारवाहीका कदमहरु चालिरहेके छ सरकार ।
डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् । योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला ।
गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए ।
एक जना चिकित्सकलाई सम्बन्धित मन्त्रालयले विधिसम्मत स्पष्टिकरण सोध्दा यत्रो आलोचनात्मक प्रतिक्रिया किन भन्नेहरु पनि छन् । मिडियामा बोल्ने रहर भए चिकित्सकीय पेशा परिवर्तन गरेर पत्रकार बन्न सुझाव दिनेहरुले त बेलगाम बोल्ने चिकित्सकलाई सरकारले जे गर्यो त्यो जरुरी थियो भन्ने तर्क पनि गरेका छन् । तर उनिहरुलाई एउटा मात्र प्रश्न, यतिबेला जनचेतना जगाउने र सतर्कता अपनाउने बाहेक कुन वैज्ञानिकले कोरोना भाइरसको संक्रमण विरुद्धको खोप वा औषधी पत्ता लगाएका छन् । कोरोनाको संत्राशमा बाँचिरहेका मानिसहरुका मानमा उब्जिएका कयौँ आशंकाहरुको सम्बोधन गर्दै आफ्ना ज्ञान, अनुभव र सतर्कताका उपायहरु बताउनु एक विज्ञ चिकित्सकको धर्म भित्र पर्दैन ? मानवियतामाथि नै जाइलागेको कोरोना विरुद्ध विश्व युद्ध लडिरहेका सेता बस्त्रधारी यी सिपाहीहरु अहिलेका मानिसका सुपर हिरो हुन् । यतिबेला आफ्ना हिरोका विरुद्धमा एक शब्द पनि सुन्न सक्ने अवस्थामा छैनन् । त्यसैले सरकारको एक सामान्य कदममाथि पनि यति धेरै प्रहार भएका हुन् ।
कोरोना विश्व युद्धमा ज्यान हत्केलामा राखेर अहोरात्र मानिसको जीवन रक्षार्थ खटिने चिकित्सक जसले उपचार मात्र गरिरहेका छैनन् भ्यासम्म जनचेतना पनि फैलाइरहेका छन् उही व्यक्ति दण्डित हुने, हतोत्साहित हुने वातावरण बन्नु सत्य पराजित हुने कलियूग आएको प्रष्ट तस्विर पनि हो । विज्ञ चिकित्सकको मनोवल गिराएर कोरोना विरुद्धको लडाइ जितिन्छ भन्ने यो सरकारका शासकहरुको सोच कालिदास प्रवृत्ति मात्र हो ।
कोरोना विरुद्धको काम गराइमा सरकारको आलोचना भइरहेका बेला ‘जाबो एक चिकित्सक’को बढेमानको तस्विर सहितको अन्तर्वार्ता राष्ट्रिय दैनिकका पहिलो पृष्ट भरिने गरि छापिएको वा टेलिभिजनहरुमा हेडलाइन बज्दा शासकहरुको मन बिजेको हुनुपर्छ तर विज्ञको काम तथ्यपरक विषय समाजमा पुर्याउनु पनि हो । जुन धर्म निभाएकै कारण उनिमाथि कारवाही हुने हो त्यो भन्दा निर्दयी कदम केही हुने छैन ।
लेखक थपलिया कान्तिपुर टेलिभिजनमा अवद्ध छन् ।